|

विराटनगर : नेपाली सञ्चार क्षेत्रमा महिलाहरुको उपस्थिति पुरुषको तुलनामा न्यून छ। त्यसमा पनि विस्थापित हुनेको संख्या पनि उत्तिनै छन्। भएका मध्ये रेडियो, एफ.एममा महिलाहरुको सहभागिता राम्रै देखिन्छ।

प्रविधिको विकासमा नयाँ–नयाँ मोबाइलको विकासले गर्दा रेडियो सुन्नेको संख्या कम हुँदै गएको छ।

मोबाइलमा नै रेडियो, क्यामेरा, इन्टरनेटमार्फत युट्युब हेर्न मिल्ने भएकाले पनि रेडियोको प्रभाव घट्दै गएको छ।

जसले गर्दा रेडियो, एफएममा कार्यरत सञ्चारकर्मीहरूको पेसा नै धरापमा पर्ने अवस्था सृजना भएको छ। यद्यपि पहाडी क्षेत्रमा भने रेडियोमा आवाज भर्नेहरुको संख्या घटेको छैन।

मोरङको पथरी शनिश्चरेमा रहेको सिम्रिक एफएमबाट ५ वर्ष अगाडिदेखि संचार क्षेत्रमा पाइला अगाडि बढाएकी ताप्लेजुङकी एलिना दियाली रेडियाकर्मी हुन्।

हाल ताप्लेजुङबाट प्रसारित सामुदायिक एफएम रेडियो काबेलीमा कार्यरत छिन्। उनी एनटिभी इटहरीका ताप्लेजुङ संवादातासमेत हुन्। पहाडी क्षेत्रमा रेडियोको महत्व अझै नघटेको उनको भनाइ छ।

रेडियोमा बोल्ने त्यसमा पनि आफूमाथि भएको अन्यायको विरुद्ध आवाज उठाउने उद्देश्यका साथ रेडियोमा प्रवेश गरेकी उनी ताप्लेजुङको कुना कन्दरामा आफ्नो आवाज सुनाइरहेकी छिन्। पहाडी क्षेत्रमा काम गर्न केही असहज भए पनि त्यसलाई सहज बनाउँदै अगाडि बढ्नुपर्ने तर्क राख्दै उनी संचार क्षेत्रमा निरन्तरता दिनसके चुनौतीसँगै अवसर आफैँ आउने बताउँछिन्।

रेडियोमा काम गर्दा सुरुवातका दिनमा पुरुष सहकर्मीको सहयोग भए पनि कतिपय ठाँउमा ‘मिस विहेभ’ हुने गरेको पनि उनको भोगाइ छ।

उनी भन्छिन्,‘पुरुषसँग दुई/चारपटक सँगै देख्दा नाम जोडिदिने र पुरुष पत्रकारहरुले यो महिला हो यसले बोल्न लेख्न सक्दैन भन्ने धारणा पनि राख्ने गर्छन्।’

मञ्चबाट अग्रज दाइहरूको सकारात्मक धारणा आए पनि पितृसत्तात्मक सोचले महिलालाई अगाडि बढ्न केही असहज हुने धारणा राख्दै उनी यस्ता सबै खालका परिस्थितिहरूलाई पन्छयाउँदै अगाडि बढ्न सके संचार क्षेत्रमा चुनौती मात्रै नभएर अवसर पनि उत्तिकै रहेको सुनाउँछिन्।

यता, खोटाङकी सविना आछामी पनि रेडियोबाटै पत्रकारिता यात्रा आरम्भ गरेको सुनाउँछिन्। रेडियोमा केही समय काम गरेर अहिले खोटाङकै स्थानीय पत्रिका र अनलाइनमा कलम चलाउँदै आएकी छिन्।

क्षमता भएकाले यो क्षेत्रमा काम पाउने भएपनि मिडिया हाउसको अवस्था धराशायी बन्दै गएकाले आर्थिक चुनौतीको सामना गर्नुपर्ने उनी बताउँछिन्।

पहाडी क्षेत्रमा तुलनात्मक हिसाबले रेडियो सुन्नेको संख्या केही घटेको भए पनि यसलाई व्यवस्थित रूपमा अगाडि बढाउन सके रेडियोमा कार्यरत संचारकर्मीहरू विस्थापित हुनबाट जोगाउन सकिने उनको धारणा छ।

मानवीय क्षमता समाजिक विकासअन्तर्गत भएकाले स्थानीय तहले पनि आफ्नो नीति तथा कार्यक्रममा संचारका विषयलाई समावेश गराउनुपर्नेमा उनी जोड दिन्छिन्।

पेशागत सुनिस्चित नहुनाले पनि यो पेसाबाट पलायन हुने संख्या बढ्दै गएको बताउँदै उनी भन्छिन्,‘मेरो क्षेत्रमा त पत्रकार महिला म मात्रै हो, अरू दुईजना हुनुहुन्थ्यो लगभग उहाँहरु निष्क्रिय भइसक्नुभयो।’

पहाडी क्षेत्र त्यसमा पनि दुर्गम भएकाले रिपोर्टिङमा केही असहजता पैदा हुने र समयमा समाचार सम्प्रेषण गर्न समस्या भएको उनको अनुभव छ।

इलामकी सुनिता खालिङ त्यहीँको स्थानीय एफएम र रेडियो नेपालमा कार्यरत छिन्। पत्रकार महासंघ इलामको उपाध्यक्षसमेत रहेकी उनी पेसालाई निरन्तरता दिन सके अवसर पनि पाइने गरेको अनुभव सुनाउँछिन्।

रेडियो सुन्ने अझै पनि गाउँघरमा चलन रहेको बताउँदै उनले यसलाई विस्थापित हुन नदिन सरोकारवाला र तीन तहको सरकारले रणनीति तय गर्नुपर्नेमा जोड दिन्छन्।

रेडियोबाट संचार जगतलाई बुझ्ने अवसर पाएको बताउने उनी आर्थिक, समाजिक रूपमा केही चुनौती आए पनि आफ्नो यात्रालाई टुंगोमा पुर्‍याउन कुनै पछि हट्न नहुने बताउँछिन्।

पहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण रिपोर्टिङका क्रमका केही असहजता आए पनि यसको सामना गर्दै अगाडि बढ्न सक्दा रेडियो, एफएम र छापाका लागि कथा र पात्र पहाडी भेगमा नै भेटिनेसमेत उनको अनुभव छ।

तेह्रथुमकी बबिता राई रेडियो मेन्छ्यायेममा कार्यरत छिन्। उनी राससमा समेत तेह्रथुम संवाददाताको रूपमा काम गर्दै आइरहेकी छिन्।

रोडियोबाट संचारक्षेत्रमा पाइला अगाडि बढाएकी बबिता यो क्षेत्रमा काम गर्न सके अवसर थुप्रै रहेको अनुभव सुनाउँछिन्। काम गर्नेका लागि चुनौतीसँगै अवसरको बाटो पनि खुल्दै जाने उनी बताउँछिन्।

उनलाई कहिलेकाहीँ रेडियोमा काम गर्दा पारिश्रमिक ढिला आउने हुँदा पेसा नै त्यागौँ जस्तो सोच नभएको पनि होइन। तर, अन्य संचार माध्यमहरुमा पनि काम गर्ने भएकाले आर्थिक पाटोमा टेवा पुग्ने गरेको उनी सुनाउँछिन्।

‘पत्रकारितामा निरन्तरता चाहिँ हुनुपर्ने रहेछ, कहिलेकाहीँ आर्थिक पाटो समस्याको विषय बन्छ’ उनी भन्छिन्, ‘स्थानीय रेडियोसँगै तेह्रथुमबाट सिआइएन, रासस लगायतमा काम गर्ने भएकाले त्यसले पनि समस्या खासै पर्दैन।’

 उल्लिखित पात्रहरु पहाडी भेगमा बसेर पत्रकारिता क्षेत्रमा आफ्नो भविष्य खोज्दै आएका पत्रकार महिलाहरु हुन्। मिहिनेत, धैर्यता र लगनशीलता भए चुनौतीका चाङहरुबाट एउटा अवसर झिक्न सक्ने उनीहरुको बुझाइ छ।

संचारक्षेत्रमा बदलिँदो प्राविधिक ज्ञानअनुसार आफूलाई ‘आपडेट’ गराउन सके सफलता प्राप्त गर्न भूगोलले छेक्न नसक्ने उनीहरू अनुभव सुनाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.