|

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मोरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लमबीच काठमाडौँमा भेटवार्ता भएको छ।

मंगलवार इप्पानको कार्यालयमा अध्यक्ष कार्की र मोरिससका राजदूत डिल्लमबीच नेपालको जलविद्युत उत्पादन र लगानीका विषयमा कुराकानीसमेत भएको छ।

भेटमा मोरिससका राजदूत डिल्लमले नेपालसँग आफूहरुको सांस्कृतिक हिसाबमा राम्रो सम्बन्ध रहेको बताए। उनले नेपाल-भारतबीच आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले गहिरो सम्बन्ध रहेको बताए। उनले नेपालमा पर्यटकीय सम्भावना राम्रो रहेको भन्दै लुम्बिनी र पोखरामा धेरै पर्यटकीय सम्भावना रहेको बताए।

राजदूत डिल्लमले नेपाल जलविद्युतमा राम्रो सम्भावना भएको देश भएकाले जलविद्युत उत्पादनमा जोड दिँदा अन्य सम्भावना बढ्दै जाने उल्लेख गरे। 

उनले विद्युत उत्पादन गरी भारतलगायत अन्य देशमा बेच्नसक्ने सम्भावना रहेको बताए। उनले नेपालमा जलविद्युत नै सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले जलविद्युत उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राखे। 

उनले विश्वका अन्य देशबाट समेत जलविद्युतमा लगानी ल्याउन सक्ने सम्भावना रहेको उल्लेख गरे। मोरिससका राजदूत डिल्लमले जलविद्युत नेपालमा मात्रै नभएर विश्वमा नै धेरै महत्वपूर्ण रहेको बताए। 

उनले विकसित मुलुकमा समेत सबैभन्दा ठूलो लगानी जलविद्युतमा रहेको बताए। उनले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानसँग नेपालको जलविद्युत उत्पादनमा लगानीका विषयमा सहकार्य अगाडि बढाइने बताए। 

उनले इप्पान नेपालले जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान गरिरहेको देखिएको बताए। उनले जलविद्युत उत्पादनमा निजी, सरकारी र सार्वजनिक क्षेत्रको संयुक्त लगानी र कामले मात्रै पूर्णता पाउनसक्ने पनि बताए। 

उनले जलविद्युत उत्पादनको लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियतको आवश्यकता रहेको र जलविद्युत उत्पादन र खपतका लागि जीटूजी सम्झौता वा निजी क्षेत्र-निजी क्षेत्रबीचको साझेदारीमा काम गर्ने वातावरण सरकारले बनाउन आवश्यक रहेको बताए। 

इप्पानका अध्यक्ष कार्कीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै उत्पादनका लागि अन्तरराष्ट्रिय लगानी आवश्यक रहेको बताए। उनले यसमा लगानी गर्न अन्तरराष्ट्रिय जगतलाई आह्वान गरिरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.