|

जनकपुर : आर्थिक मन्दीका कारण धनुषामा चालु आव ०८०/८१ को ९ महिनामा १७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन्। ती उद्योगमा कार्यरत करिब २ हजार मजदुर बेरोजगार भएका छन्। उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ ११३ उद्योग तथा व्यवसाय बन्द भएको हो। बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामानसमेत बिक्री भएको छैन।

कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म ६६२ वटा नयाँ उद्योग दर्ता भएका छन्। १ हजार ६ सय दुई उद्योग नवीकरण भएका छन्।

वाणिज्यतर्फ ७३४ वटा व्यावसायिक फर्म नवीकरण तथा ८३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन्।

उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले २४ लाख ११ हजार ५३० राजस्व सङ्कलन गरेको छ। वाणिज्यतर्फ दर्ता र नवीकरणवापत ५० लाख ३ हजार ७७० गरी कूल ७४ लाख १५ हजार ३ सय राजस्व सङ्कलन गरेको छ।

कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ।

व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन्। 

गत आव ०७९/८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग ५३६, लघु उद्योग ५९१ तथा घरेलु उद्योग एक गरी १ हजार १२८ उद्योग दर्ता भई सञ्चालनमा थिए। 

उद्योगहरुको स्थिर तथा चालु पूँजी ३ अर्ब ५५ करोड ८२ लाख ११ हजार ९९९ रहेको जनाइएको छ। बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.