काठमाडौँ : वैवाहिक बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले आत्मसमर्पण गरेका छन्।
केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
गिरी आफैँ आज बिहान करिब १० बजे काठमाडौँ जिल्ला अदालतमा आत्मसमर्पणका लागि पुगेका अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
उनका अनुसार सर्वोच्चको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो।
काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन्।
आरतीले आफूलाई घरेलु हिंसा, यौन शोषण र वैवाहिक बलात्कार गरेको भन्दै २०७९ सालमा जाहेरी दिएकी थिइन्। पूर्वन्यायधीश गिरीले वैवाहिक बलात्कारको मुद्दा चलिरहेकै अवस्थामा पुनः बलात्कार गरेको आरोप पनि छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।