|

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको व्यंग्य गरेका छन्।

सोमवार १५५औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा अध्यक्ष वैद्यले एमाले गतिलो भाइ कांग्रेस बन्न हीरक जयन्ती मनाएको व्यंग्य गरेका हुन्। 

उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए। 

‘त्यो जयन्तीको उद्देश्य के हो भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने‚’ उनले भने‚ ‘दाइ कांग्रेस त छँदै छ, गतिलो भाइ कांग्रेस बन्ने  उद्देश्यमा आधारित छ।’

उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नै नभएको बताए। उनले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेको आरोप लगाए। 

‘कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो‚’ उनले भने‚ ‘उनीहरुले आफूलाई कम्युनिस्टको नाममा राखेर, कम्युनिस्टको झण्डा चोरेर, मार्क्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन्।’

उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए। उनले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमत भ्रमित पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका बताए।

‘आज सत्तामा कम्युनिस्टहरु छैनन् तर प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिस्ट छन्, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन्। हाम्रो भनाइ के हो भने ति कम्युनिस्ट होइनन्। त्यो धार दक्षिणपन्थी अवसरवादी धार हो‚’ उनले भने‚ ‘नेपाली कांग्रेस र सत्ताधारी कम्युनिस्टबीच कुनै तात्विक र मौलिक अन्तर छैन। उनीहरुले मार्क्सवाद, लेनिनवाद, कम्युनिस्टको नाम किन जप्छन् भने नेपालमा कम्युनिस्टहरुको समर्थन गर्ने जनता‚ वामपन्थी जनमत ठूलो छ‚ त्यो जनमत भ्रमित तुल्याउनका लागि गर्छन्।’

अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताए। उनले आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए। उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध बनाए क्रान्ति गर्न सकिने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.