सेमिफाइनल प्रवेशका लागि मध्यपुरसँग खेल्ने

|

ललितपुर : कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलवार सम्पन्न एकमात्र खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले अन्तिम ८ मा स्थान बनाएको हो। 

कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्रबहादुर बस्नेतको नाममा रह्यो। यमनले खेलको ९औँ, २५औँ र ४६औँ मिनेटमा गोल गर्दा इन्द्रले ५६औँ मिनेट र ७०औँ मिनेटमा गोल गरे। 

ह्याट्रिक गरेका कीर्तिपुरका यमन मर्हजन खेलको म्यान अफ दि म्याच भए। उनलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि मर्हजनले ट्रफि र ५ हजार नगदको चेक हस्तान्तरण गरे। 

जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ। 

मध्यपुर थिमि सोमवार टोखा नगरपालिकालाई हराएर क्वार्टरफाइनलमा पुगेको हो।

प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन्। 

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतियोगिताको विजेता टिमले ५ लाख नगद र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने छन्। अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.