काठमाडौं : यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले २-२ गोलको बराबरी खेलेका छन्।
घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउदा खेल बराबरीमा सकियो। १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले दोस्रो हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो। तर खेलको अन्त्यतिर रियलले बराबरी गोल गर्न सफल भयो।
खेलको २४ औं मिनेटमा रियलले भिनिसियस जूनियरको गोलबाट खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा रियलले अग्रता लियो। तर दोस्रो हाफको सुरुवाती समयमा नै बायर्नले पुनरागमन गर्न सफल भयो। ५३औं मिनेटमा लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहारको मद्दतमा बायर्न खेलमा बराबरी गर्यो। त्यसको चार मिनेट पछि बायर्नले खेलमा अग्रता लियो। लुकास भास्केजले बक्स भित्रबाट जमाल मुसीयालामाथि फाउल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो। सो पेनाल्टीमा स्टार स्ट्राइकर ह्यारी केनले कुनै गल्ती गरेनन्।
८३औं मिनेटमा रियलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो। डिफेन्डर किम मिन-जेले रोड्रीगो माथि फाउल गरेपछि पाएको पेनाल्टीमा भिनिसियस चुकेनन्।
दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेऊमा अर्को हप्ता हुनेछ। आज राति राती दोस्रो सेमीफाइनलको पहिलो लेगमा पेरिससेन्ट जर्मान र बोरुसिया डर्टमण्ड भिड्ने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।