|

काठमाडौं : श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको छ।

बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको सुरुवात गरेका हुन्। उनले श्रमाधान सेवाको सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टरभन्दा पनि कार्यक्रमको रुपमा श्रमाधानको शुरुवात गरेको बताए।

उनले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको बृहत र व्यावहारिक योजना भएको दाबी गरे। उनले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए।

उनले श्रमाधानमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएको बताए। उनले इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको उल्लेख गरे। उनले सात रङले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्वित गर्ने दाबी गरे।

श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन सरकारले प्राथमिकताका साथ शुरुवात गरेको महत्वपूर्ण कार्यक्रम भएको बताए।

उनले विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई सम्बोधन गर्ने पनि समावेश गरिएको बताए। उनले श्रमिकले सिकेको सीप, पुँजी र ज्ञानलाई सम्बोधन गर्ने गरी अवकाशपछिको आरम्भ भन्ने नारासमेत राखेको बताए।

उनले विदेशबाट नेपाल फर्किएका र नेपालमा अवकाश प्राप्त नागरिकहरु सीप, श्रम र अनुभवलाई सक्रिय बनाउन पहल गर्ने बताए। श्रममन्त्री अर्यालले श्रमाधानमा समावेश सात कार्यक्रमले नेपाली श्रमिकको हित र रोजगारी सिर्जना गर्ने अभियान भएको बताए। उनले श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश रहेको बताए।

उनले भने, ‘श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका आएका छौं। श्रमाधानको शुरुवात गरौं। श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना हो। श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ। श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश रहेको छ।’

उनले रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम गरिरहेको बताए। उनले श्रमाधानमा सबै नेपालीहरुको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताए।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ। समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट सम्पर्क गर्नसक्ने मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.