काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ। वडा तहबाटै केन्द्रसम्म अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस र चर्चा छ।
सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला निरन्तर चलिरहेको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई आफू पुनः सभापतिमा उठ्ने भन्दै सहयोगका लागि आग्रह गरिसकेका छन्।
कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ। यीबाहेक नेतृत्वका आकांक्षी अन्य नेताहरु पनि चुनावी रणनीतिमा व्यस्त छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पुर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेता शेखर कोइराला उम्मेदवार बन्ने मुख्य प्रतिस्पर्धामा छन्।
लामो समय आफ्नो सहयोगी बनेर काम गरेका उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा उठ्न तयार भएपछि देउवालाई चुनौती थपिएको छ।
पुराना तथा शिर्ष नेताहरुले नेतृत्वमा जान दौडधुुप गरिरहँदा नयाँ पुस्ताका नेताहरुले भने अब व्यवस्था नभई कांग्रेसमा नेतृत्व नै परिवर्तन गर्ने बेला आएको भन्दै पार्टी हाँक्ने जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने माग गरेका छन्।
कुन व्यक्ति कुन पदमा पुग्ने भनेर लडाइँ गर्नुभन्दा पनि नेपाली कांग्रेसले अंगिकार गरेको सिद्धान्त समयसापेक्ष बनाउन ढिला गर्न नहुनेमा युवा नेताहरुले जोड दिएका छन्।
तर नेता डा.रामशरण महतले भने उमेर नभई पार्टीको आवश्यकताका आधारमा नेतृत्व चुन्नु आवश्यक रहेको तर्क गरेका छन्।
उमेर मात्रै सबै मापदण्ड नभएकाले नेतृत्वमा युवा पुस्ताको खोजी गर्दा अन्य बिषय ओझेलमा पर्न सक्ने उनी बताउँछन्। युवाभन्दा पनि पार्टीको आवश्यकता अनुसार योग्य व्यक्तिलाई नेतृत्व सुम्पिनुपर्नेमा शिर्ष तथा पुराना पुस्ताका नेताहरुको मत मिल्छ।
युवा पुस्तालाई आफू वा आफ्नो समूहतर्फ आकर्षित गर्न, विरोधको आवाज कम सुनियोस् भन्ने स्वार्थका कारण वा गुटको काँध थापेर मलजल गरिदिन्छन् भन्ने आसले मात्रै प्रोत्साहन गरेको देखिन्छ। सभापति वा महामन्त्री जस्तो उच्च पदमा विश्वास गरेर नेतृत्व सुम्पने मनस्थितिमा कांग्रेस देखिँदैन।
त्यसको ज्वलन्त उदाहरण हुन् युवा नेता कल्याण गुरुङ। उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। तर उनलाई आफू उठ्नुभन्दा एजेन्डा मिल्ने समूहलाई समर्थन गर्न सुझाव दिनेहरु बढ्दै गएका छन्।
सहज छैन नेतृत्व हस्तान्तरण
गुटका नेता व्यवस्थापन अर्को चुनौती भएका कारण पुराना नेताबीचमै नेतृत्वमा पुग्ने होडबाजी चलिरहेका बेला नयाँ पुस्ताले अवसर पाउने संभावना कम रहेको राजनीतिक विश्लेषक जैनेन्द्र जीवन बताउँछन्।
यद्यपी आंकाक्षी धेरै हुँदा प्रतिस्पर्धा पनि धेरै हुनेछ भने नेतृत्व लिन ठूलै कसरत गर्नुपर्ने देखिन्छ। अघिल्ला चुनावमा जस्तो सहज यसपटक देखिँदैन। अघिल्लो महाधिवेशनमा सभापति देउवा नेतृत्वलाई पार्टी राम्रोसँग संचालन गर्न नसकेको आरोप लगाउने ठाउँमा थिए भने यसपटकको महाधिवेशनमा एउटा ठूलो समूह देउवालाई हराउने रणनीति बुन्दैछ।
यसपटक करिव ९ लाख भन्दा धेरै क्रियाशील सदस्य हुने कांग्रेसले अनुमान गरेको छ। युवा नेता प्रदिप पौडेलले पार्टी र सिद्धान्तलाई समय सापेक्ष परिष्कृत गर्न पनि नयाँ पुस्तालाई अवशर दिनुपर्ने माग गरेका छन्।
यद्यपी पौडेल अहिले पार्टीमा नयाँ पुस्ता नेतृत्वमा पुग्नुपर्छ भन्ने लडाइँभन्दा पनि पदाधिकारी बलियो बनाउने कसरतमा लागेका छन्।
कांग्रेसमा नेतृत्व बदलेपछि मात्रै नीति र एजेन्डा क्रमिक रुपमा बदल्दै लैजान सकिने युवा पुस्ताको आशा छ। असफल नेतृत्वलाई प्रतिस्थापन गरेर नयाँ भिजनसहित सुध्रिएर जान दबाब र अवसर दुवै देखिएको छ।
महाधिवेशन समयमै गर्ने दाबी तर तयारी सुस्त
कोरोना माहामारी, बर्षायाममा हुनसक्ने प्राकृतिक विपत्तिका बाबजुद पनि कानुनी वाध्यताका कारण कांग्रेसले भदौ १६ गते महाधिवेशन गर्ने पर्ने छ। तिब्र तयारी भइरहेको भनेर दाबी गरे पनि भनेजस्तो काम गर्न सकिरहेको छैन।
गत आइतबारसम्म क्रियाशील सदस्यता छानविन गरेर प्रिन्टमा पठाउने कार्यतालिका भए पनि सदस्यता छानवीनमा विवाद देखिएका कारण असार मसान्तसम्म गरिसक्ने गरी समय थपिएको छ।
गुटका प्रतिनिधिहरू सम्मिलित छानविन समितिले तयार पारेको मतदाता नामावली पारदर्शी हुनेमा पनि शंसय देखिने नेताहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।