काठमाडौं : जब निरन्तर वर्षा हुन्छ-सिन्धुपाल्चोकवासीको मानसपटलमा कतै यो पानीले केही विध्वंश त गर्दैन? या के हुने हो भन्ने चिन्ताले जरो गाडी हाल्छ।
देशभरमै सबैभन्दा धेरै बाढीपहिरो सिन्धुपाल्चोकमा चल्छ। त्यहाँका विभिन्न क्षेत्रमा बाढी र पहिरो गइरहँदा त्यहाँका जनताले वर्षेनी दुःख पाइरहेका छन्।
कहिले माङ्खा र राम्चेको सीमा क्षेत्रमा पर्ने जुरेको पहिरो त कहिले भोटेकोशीको बाढीले बाह्रबीसे, जुगल र भोटेकोशीलाई पारेको प्रभाव सिन्धुपाल्चोकवासीका लागि नियति नै बन्न पुगिरहेको छ।
पछिल्लो समय मेलम्ची नदीको बाढीले मेलम्ची बजारमात्र होइन, आसपासका क्षेत्रपनि प्रभावित भएका छन्। शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाइसकेको छ।
हेलम्बु र मेलम्ची बजारलाई बगर बनाउने भीमथाङ पहिरो (फोटो फिचर) |
हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घर टहरा बगाएको छ। चनौटे ग्याल्थुम र ढुङ्गेर बजार जोखिममा परेको छ।
यसअघि गत असार १ गते पनि मेलम्चीमा आएको बाढीले मेलम्ची बजार नराम्ररी प्रभावित गरेको थियो। सो बाढीले ७ जनाको ज्यान लिएको थियो भने मेलम्ची बजार क्षेत्र नै डुबाउँदा पक्की घरको तीन तलासम्म माटोको लेदोमा पुरियो।
२०७२ सालको भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकमा २०७३ साउनमा भोटेकोशीमा आएको बाढीले लिपिङ र तातोपानी बजार क्षेत्रका ८० भन्दा बढी घर बगायो।
अघिल्लो वर्षको असारमा बाह्रबीसेको जम्बुमा गएको पहिरोले १८ जनाको मृत्यु भयो भने एक महिना बित्न नपाउँदै साउनमा जुगल गाउँपालिकाको लिदीमा पहिरो जाँदा सिंगो गाउँ नै पुरिएर ३९ जनाको ज्यान गयो। गत वर्षकै भदौमा बाह्रबीसे नगरपालिकाको नागपुजेमा गएको पहिरोमा ३१ जनाको मृत्यु भयो।
वर्षैपिच्छे आउने बाढीपहिरोले यहाँका बासिन्दा पानी पर्नासाथ झस्किरहन्छन्। सिन्धुपाल्चोकमा धनजनको बर्सेनि क्षति भएपनि यसको चिन्ता असार साउनको झरीमा स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म हुन्छ। तर, दीर्घकालिन प्रयास भने नभएको विज्ञहरू बताउँछन्। वास्तवमा किन यहाँ यसरी बाढीपहिरो गइरहन्छ त, यहाँको भूगर्भ र वातावरणीय पक्षलाई हामीले केलाउने प्रयास गरेका छौँ।
भूगर्भविद् एवं वातावरणविद् प्रा. डा. दण्डपाणि अधिकारी नेपालको बाढीपहिरो जाने स्थानमध्ये सिन्धुपाल्चोक अग्रस्थानमै आउँने बताउँछन्। ‘प्रायः कुनै वर्ष छैन-सिन्धुपाल्चोकको यहाँ अथवा त्यहाँ बाढीपहिरो नगएको,’ उनले भने, ‘पहिलो कारण नै त्यहाँको भूगर्भ नै हो। त्यहाँको चटन, माटोको बनावट कमजोर किसिमको छ। त्यहाँका चट्टानहरू फुटेका छन्।’
उनका अनुसार सिन्धुपाल्चोकका अधिकांश खोलानालाले पहाड खोतलिरहेको छ। ‘वर्षैपिच्छे बाढीपहिरोको नियति हुनुमा यसको पूर्वानुमानको अध्ययन नभएको हो,’ उनले भने। भुइँचालोले जमिनको सतह चिरा पारेर कमजोर बनाउँदा वर्षातको पानी चिराभित्र छिरेर पहिरो आउने क्रम बढेको उनले जानकारी दिए।
‘वैशाखदेखि नै पानी परिरहँदा माटो चिसो थियो, माटोको छिद्रमा पानी पस्यो र मनसुन शुरू हुनासाथ क्षतिको सिलसिला शुरू भयो,’ उनले भने, ‘यसमा मुख्यतः तीनवटा कारण छन्-भूगर्भ, पानी र मानवीय क्रियाकलाप। कुनै समयमा के भनिन्छ भने यी दरारहरू बन्ने क्रममा त्यो रेन्ज चाँही अफलिफ्ट भयो भनेर केही रिसर्चहरूले उल्लेख गरेका छन्। बढी उठ्यो-जसले गर्दा चट्टान टुक्रिए, फुटे अनि त्यसपछि चट्टानहरू कमजोर भएर धेरै माटो बने। त्यहाँको पहाडको फेदमा धेरै माटो थुप्रिएर बसेको छ,’ उनले बताए।
सिन्धुपाल्चोकको माथिल्लो भागमा १० हजार वर्ष अघिसम्म हिउँ र हिमनदीहरू निकै तलसम्म आएको विज्ञहरू बताउँछन्। त्यसो हुँदा ती नदीले ल्याएको माटो पनि प्रशस्त रहेको र त्यो माटो कमलो भएकाले पानीको बेग र पहिरो जाने संभावना बढी हुने भूगर्भविद् अधिकारी बताउँछन्।
‘त्यो माटो चट्टान बन्न सकेको छैन, ती माटो कमजोर भएको हुनाले पानी पर्दा बग्न सजिलो छ, पहिरो जाँदा बग्न सजिलो छ,’ उनले भने, ‘भोटेकोशी आसपास बाह्रबीसेबाट माथितिर लागेपछि धेरै कमजोर संरचना छ। १ मिटरभन्दा बाक्लो् लुज माटो माउण्टेन स्लोपमा छ। तलबाट खोला बग्छ। त्यसले कमजोर माटोलाई तानेर बगाउँछ।’
खोलाको मापदण्ड बेवास्ता
भूगर्भविद् एवं वातावरणविद् प्रा. डा. अधिकारी खोलाको मापदण्ड बेवास्तागर्दै खोलाको किनारमा गएर घर बनाइदिने कारणले पनि क्षति हुने गरेको तर्क गर्छन्।
‘भूउपयोग नीति मानिसहरूले फलो गरेका छैनन्। बगरमा गएर घर बनाएपछि खोलो त पस्छ नि!’ उनी भन्छन्, ‘सडक बाटोको अन्धाधुन्ध निर्माण पनि यसको कारणमध्ये एक हो, यति भद्रगोलसँग बाटो खनेका छन्।’
‘कमलो भूभागमा डोजर लगाइदिएपछि भत्किन सजिलो हुन्छ। रुख काटेर विविध किसिमले भूभाग कमजोर बनाइएको छ,’ उनले भने, ‘पूर्वतयारी हुनुपर्छ भन्ने हामी सबैलाई थाहा भएपनि त्यत्ति ध्यान गएको देखिन्न। जब वर्षायाम शुरू हुन्छ-अनि मात्र चर्चा र बहसमा आउँछ।’
उनले दिगो रूपमा यसको समाधानतर्फ पूर्वतयारी गर्न सुझाव दिए। ‘जब अन्तिम अवस्था हुन्छ, कराउन चिच्याउन थाल्छौ, राहतका कुरा गछौँ, हेलिकप्टरमा जान्छौँ। त्यहाँका स्थान पिच्छेका ट्रेन हेरेर त्यसको पूर्वतयारी गरे घटना भइसकेपछिको प्रतिकार्यमा दौडधूप गर्नुपर्दैन,’ उनको सुझाव छ।
यस विषयमा पहिरोविद् सुवोध ढकाल पुरानै पहिरो गएकै स्थानमा बस्ती बसाउनाले पनि फेरि पहिरो आएर क्षति भएको दाबी गर्छन्। ‘सिन्धुपाल्चोकमा पहिले पहिरो गएका स्थानमै बस्ती बसेको छ। पहिला–पहिरो गएको स्थानमा फेरि पनि पहिरो जाने संभावना रहन्छ,’ उनले भने, ‘२०७२ सालको भूकम्पका कारण पनि जमिनमा चिराहरू पारेको, हल्लाएको र थर्काएको छ।’
आकाशबाट धेरै पानी परिरहँदा चिराबाट भित्री जमिन भित्रै पानी छिरेर पानीले आफैँसँग लिएर हिँड्ने हुँदा खतरा रहने उनले जानकारी दिए।
ढकाल पनि हिमताल फुटेर आउँदा त्यसले ल्याएको गेग्रान थुप्रिएको ठाउँमा पनि बस्ती बसेकाले बाढी पहिराको जोखिम रहेको औल्याउँछन्। ‘धेरै समयअघि हिमनदी र हिमताल फुटेर आउँदा त्यसले ल्याएको गेग्रान थुप्रिएको ठाउँमा पनि बस्ती बसेकाले बाढी पहिराको जोखिम छ। किनकी त्यो ठाउँको माटो कमलो छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।