|
रासस

म्याग्दी : विशाल चट्टाने पहरोको सिरानबाट हामफाल्दै पहराको बीचमा पहिलो खण्ड र जंगलको सिरानमा दोस्रो खण्ड भएर पानी उड्ने म्याग्दीको उडाइनो झरनाले पर्यटकहरूलाई कुरिरहेको छ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब ४ किलोमिटर पश्चिम बेनी नगरपालिका-२ बगरफाँट गाउँको सिरानमा पर्ने यो छहरोको पानी उड्ने र तलबाट हेर्दा निकै आकर्षक देखिने भएकोले यो झरना प्रकृतिप्रेमी पर्यटकको प्रतीक्षामा छ।

पुछारमा कलकल गर्दै बगेको म्याग्दी नदी। नदीको तटमा लमतन्नै परेको खेतको फाँट। परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ।

गाउँको सिरानमा रहेको घना जंगल छिचोलेर यस झरनाको फेदमा पुग्न सकिन्छ।

जंगलको माथिपट्टि विशाल भीर रहेको छ । त्यही भीरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको छ पानी उड्ने -उडाइनो झरना।

सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ।

म्याग्दी खोलाको काखमा सुन्दर, शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरू हेर्दै करिब चार किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा। करिब २०० मिटर उचाई रहेको कोप्रे छहरा र २५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छन्।

झरनामा रमाउनका लागि दैनिक करिब १ सय ५० जना युवायुवती आउने गरेका स्थानीयले बताएका छन्। उडाइनो झरनाको दायाँतर्फ करिब २ सय मिटरको दुरीमा कोप्रे  झरना रहेका छ।  बांगोटिंगाे (नागबेली) भएर झर्ने भएकोले यस झरनालाई कोप्रे झरना भनिएको स्थानीय खमबहादुर घर्तीले बताए।​

उडाइनो झरना र कोप्रो झरना दुवै वडाका आकर्षक झरना बनेका र यी झरनासम्म पुग्ने पैदलमार्ग तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरेर प्रचार प्रसार गर्ने हो भने यहाँ धेरै पर्यटकहरूलाई ल्याउन सकिने बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

यी झरनाहरु हिउँदमा सुक्ने र वर्षामा मात्र झर्ने गर्दछन्।

पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभ हिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ। झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ।

रमणीय जंगलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको बासस्थानसमेत छ। प्राकृतिक स्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन्।

स्थानीयको मागलाई मध्यनजर गर्दै नगरपालिका र प्रदेश सरकारसँग यस्ता प्राकृतिक पर्यटकीय स्थलहरुको संवर्द्धनका लागि यथोचित बजेट माग गर्ने र यहाँ पूर्वाधार निर्माण गर्ने बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.