विराटनगर : खसी बेची धानमा हाल्ने मल किन्ने योजना बनाएर बुध हटिया आएका कुलदेव पासवान यसै घर फर्कन बाध्य भए।
२२ वर्षदेखि लाग्दै आएको हाटखोलास्थित बुध हटिया कटहरी गाउँपालिकाले आज (बुधबार) हटाएसँगै उनी खसीसँगै रित्तो हात फर्किएका हुन्।
सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर पासवान हाटखोलाको बुध हटिया आइपुगेका थिए।
प्रहरी प्रशासनको सहयोगमा गाउँपालिकाले हटिया उठाएसँगै पासवान जस्तै आफ्नै उत्पादन बेच्न आएकाहरूलाई हटियास्थलमा जान दिएन। पासवानको खसी पनि बिकेन, उनी जस्तै अरूले पनि खसी लिएर आए र लिएरै फर्किए।
यता आलुप्याजको व्यापार गर्दै आएका घोघापुल विराटनगरका मोहम्मद नसिर कटहरी गाउँपालिकाको भवनअघि गरिखान दिनुपर्ने माग गर्दै थिए।
हटिया भर्न पुगेका वेला प्रहरीले हस्तक्षेप गरेर २२ वर्षदेखि चल्दै आएको व्यापार बुधबार रोकेको थियो। धीरज साह, वीरेन्द्रकुमार साह, कौशिल्यादेवी मुखिया, रामकुमार साह यी सबै माछा, आलुप्याज, तरकारी र बीउबिजन लिएर हटिया पुगेका थिए। उनीहरू सबै विराटनगरका व्यापारी हुन्।
हटिया लाग्ने ठाउँमा उनीहरूले सामान लान्छन् र बेच्छन्। गाउँपालिकाले सिंघिया किनारसँग जोडिएको हटिया क्षेत्र खाली गराएर त्यहाँ बस स्टेशन बनाउने तयारी गरेको छ।
गाउँपालिकाले त्यहाँको हटिया उठाएर कटहरी–१ स्थित फलफूल तथा तरकारी थोक बजारमा सार्ने योजना बनाएको छ। हटिया व्यापारीले भने आफ्ना लागि त्यो उपयुक्त नहुने बताएका छन्।
कटहरीमा सरकारी कोष खर्चिएर ४५ हजार मेट्रिक टन तरकारी र आठ हजार मेट्रिक टन फलफूल राख्ने क्षमताको बजार निर्माण गरिएको छ।
१७ करोडको लागतमा निर्माण भएको बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टलका साथै अत्याधुनिक प्रशासनिक भवन समेत छ।
हाटमा सामान बेच्नेलाई यसै भवनमा सार्ने योजना गाउँपालिकाले राखेको थियो तर सधैं हटिया भरिरहेकाहरूले त्यो निर्णय अस्वीकार गरेपछि प्रहरी बल प्रयोग गर्नुपरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।