|

काठमाडौं : चिसो मौसममा अस्पताल पुग्नेमध्ये धेरैमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ। यसमध्ये पनि बालबालिका र वृद्धवृद्धालाई धेरै सताउने स्वास्थ्य समस्यामध्ये एक हो, ‘निमोनिया’।

चिसोका कारण धेरैमा रुघाखोकी तथा घाँटीको समस्या देखिन्छ। तर रुघाखोकीलाई सामान्य मानेर  समयमा उपचार नगर्दा निमोनिया हुन सक्छ। के हो निमोनिया? यसबाट बच्न के उपाय अपनाउनु पर्छ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहसँग गरिएको कुराकानी-

निमोनिया के हो?

निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक संक्रमण(रोग) हो। निमोनिया भाइरस तथा ब्याक्टेरियाका कारण हुने गर्छ।

मानव शरीरमा दुईवटा फोक्सो हुन्छ। चिसो तथा अन्य कारणले गर्दा छातीमा असर गर्दा त्यसको प्रत्यक्ष असर फोक्सोमा पुग्छ। यसरी फोक्सोमा संक्रमण हुँदा निमोनिया हुन्छ। निमोनियाले विशेषगरी फोक्सो बिगार्छ।

फोक्सोको काम बाहिरको स्वस्थ हावा लिएर शरीरलाई आवश्यक अक्सिजन पूर्ति गर्ने र कार्बनडाइअक्साइड बाहिर फाल्ने हो। तर चिसो तथा अन्य कारणले रुघाखोकी लाग्यो र यो लामो समयसम्म ठीक भएन वा बिग्रियो भने निमोनियाको सम्भावना धेरै हुन्छ। हामीले श्वास लिँदा हावाको माध्यमबाट बाहिरको किटाणु (ब्याक्टेरिया) फोक्सोमा पुग्छ र त्संयसैको माध्यमबाट निमोनिया हुन्छ। प्राय: चिसो मौसममा ब्याक्टेरियाको मात्रै नभएर भाइरसजन्य कारणले पनि निमोनिया हुन्छ।

निमोनिया भएको कसरी थापा पाउने?

धेरै बिरामीले इन्फ्लुएन्जा र निमोनिया संक्रमणको लक्षण छुट्याउन नसक्दा स्वास्थ्य जटिलता भएको पाइन्छ। धेरै जनाले निमोनियाको लक्षण देखिन थालिसकेको अवस्थामा पनि गम्भीर प्रकारको रुघाखोकी (इन्फ्लुएन्जा)हो भनेर घरेलु उपचार नै गरेर घरमै बसेको पाइन्छ।

अझै चिसो मौसममा चिसोको कारणले रुघाखोकी त हो नि भनेर घरमा नै घरेलु उपचार गरेर बस्ने र सिकिस्त भएपछि मात्र अस्पताल आउने गरेको बिरामीहरूसँग कुरा गर्दा थाहा पाइन्छ।

तर मुख्य कुरा के हो भने निमोनियाको संक्रमण हुँदा हाम्रो शरीरमा रुघाखोकीका भन्दा केही फरक लक्षण देखिन्छन्।

निमोनिया हुँदा तीव्र ज्वरो आउने, चिसो महसुस हुने, छाती दुख्ने, थकान महशुस हुने, खोकी लाग्ने,  कहिलेकाहीँ खकारमा रगत पनि देखिने, श्वासप्रश्वासमा समस्या आउने तथा रक्तचाप कम हुनुका साथै मुटुको धड्कन पनि घटेको अनुभव हुने हुन्छ।

साथै थकान महसुस हुने, जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने, टाउको दुख्ने, मन परिवर्तन भइरहने र मानसिक क्षमता घट्ने तथा होश हराउने जस्ता लक्षण पनि देखा पर्छन्। रुघाखोकी लागेको वेला यस्ता लक्षण देखिएका छन् भने परीक्षणका लागि चिकित्सककहाँ जानु पर्छ। यस्तो लक्षण देखिए छातीको एक्सरे गर्दा दाग देखियो भने निमोनिया भएको भनेर बुझ्नु पर्छ।

फ्लू र निमोनियामा के फरक छ?

फ्लू र निमोनियामाको केही लक्षण साझा हुने हुँदा धेरै बिरामी झुक्किने गर्छन्। तर बुझ्नु पर्ने कुरा के छ भने ज्वरो, खोकी, घाँटी दुख्ने, नाकबाट पातलो पानी बग्ने वा बन्द हुने, मासपेशी दुख्ने,जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता ‘कोल्ड एलर्जीको  लक्षण देखिने गर्छ।

फ्लूका लक्षणहरू कम्तीमा पनि एक हप्तासम्म रहिरहन सक्छ। यो समयमा आराम गर्दा, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा केही समय पछि ठिक हुन्छ।

कस्ता व्यक्ति निमोनियाको बढी जोखिम हुन्छ?

चिसो मौसममा विशेषगरी बालबालिका र वृद्धवृद्धा निमोनियाको जोखिममा हुन्छन्। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले निमोनियाको संक्रमण चाँडै हुन्छ। लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, फोक्सो, मुटुसम्बन्धी रोग, सुगर, बाथ भएका, किमोथेरापी गरिरहेका र एचआईभी संक्रमित (जोसँग बिरामीको रोगसँग लड्ने क्षमता कम हुन्छ) मा निमोनियाको संक्रमण चाँडै हुन्छ।

निमोनियाको उपचार कसरी गरिन्छ त?

निमोनियाका उपचार त्यसको कारण र किसिम, त्यसको गम्भीरता र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्छ। समस्याको मूल कारणको पहिचान तथा बिरामीको स्वास्थ्य अवस्थाको आँकलनको आधारमा चिकित्सकले औषधी सिफारिश गर्ने हो।

सामान्यतः ब्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइन्छ। चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बिचमा निको भयो भनेर औषधी खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधी छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुनसक्छ।

निमोनियाबाट बच्न के कस्ता सावधानी अपनाउने?

जुनसुकै मौसममा पनि निमोनियाबाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको धुवाँ, धुलोबाट बच्ने हो। साथै रुघाखोकी लाग्दा सावधानी अपनाउने हो।

चिसो मौसममा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुने भएकाले अन्य समयमको तुलनामा निमोनियाको जोखिम धेरै हुन्छ। त्यसैले यो मौसममा सकेसम्म चिसोबाट बच्नु नै उत्तम उपाय हो।

हावामा नहिँड्ने, चिसो खानेकुरा सकभर नखाने गर्नु पर्छ। यसका साथै बालबालिका तथा बालबालिकालाई निमोनियाविरुद्धको खोप लगाउन समेत सकिन्छ। लामो समय रुघाखोकी निको नभए, ज्वरो आए वेलैमा चिकित्सकलाई देखाउनु पर्छ।

निमोनियाको औषधी चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ। बिचमा औषधी सेवन गर्न छोड्यो भने ब्याक्टेरियाको क्षमता बढ्न गई पुन: बल्झिन सक्छ। औषधीले काम नगर्न सक्छ। यसका साथै चुरोटबिँडी सेवन गर्नु हुँदैन। घरबाहिर निस्कँदा मास्क लगाउनु पर्छ।

रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने, बच्चालाई कुपोषण हुन नदिने, वृद्धवृद्धालाई सामान्य इन्फेक्सन छ भने पनि समयमा नै उपचार गराउने र घरमा बस्दा चिसो भयो भन्दै झ्यालढोका लामो समयसम्म बन्द गरेर बस्नु हुँदैन।

तातो र झोलियो खानेकुरा खानाले पनि निमोनियाबाट धेरै हदसम्म जोगिन सकिन्छ।

निमोनियाविरुद्ध खोप एकपटक लगाए सधैँलाई हुन्छ त?

निमोनियाविरुद्धको खोप केही मँहगो छ। तर यो खोपले पाँच वर्षसम्म काम गर्छ। यसले विशेषगरी ब्याक्टेरियाको कारण हुने निमोनिया संक्रमणबाट बचाउँछ। दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धालाई यो खोप निकै प्रभावकारी हुन्छ।

इन्फ्लुएन्जाविरुद्धको खोप पनि वर्षमा एक पटक लगाउन सकिन्छ‚ यसले पनि निमोनियाबाट बचाउँछ। इन्फ्लुएन्जाविरुद्धको खोप सकेसम्म चिसो शुरु हुनुअघि अर्थात् सेप्टेम्बरतिर लगाउन सकियो भने राम्रो हुन्छ। तर इन्फ्लुएन्जाविरुद्धको खोप निमोनिया विरुद्धको खोप हरेक वर्ष लगाउनु पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.