|

गौर : १३ वर्षदेखि अलपत्र पुल निर्माण हुनुपर्ने माग गरी स्थानीयले तीन दिनदेखि गौर–चन्द्रनिगाहपुर खण्ड ठप्प पार्दै विरोध प्रदर्शन गरेका छन्।

रौतहटको दुर्गा भगवती गापा-५ स्थित रौतहट-सर्लाही सीमाक्षेत्रमा पर्ने बागमती पुल निर्माणको काम सुरु गर्न माग राखी स्थानीयले प्रदर्शन गरेका हुन्।

२०६७ सालमा शिलान्यास भएको पुल १३ वर्ष बित्न लाग्दा सम्पन्न भएको छैन। उक्त पुल पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रष्णप्रसाद यादवको क्षेत्र हो।

तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत बागमती नदीमा शुरु गरिएको पुल पूरा नभएपछि प्रदेश सांसद नागेन्द्र साहसहितका स्थानीयले सडक अवरुद्ध पारेका हुन्।

‘हामी टेन्टमै खाने बस्ने गरेका छौँ। पुल निर्माणको काम सुरु नभएसम्म यहाँबाट हट्दैनौँ’, नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नीतेशकुमार गुप्ताले भने, ‘शिलान्यास भएको एक दशकभन्दा बढी समय बित्दा पनि पुल सम्पन्न हुने छाँट छैन।’

चक्काजामले चन्द्रनिगाहपुर गौर सडकमा सवारी आवागमन अस्तव्यस्त छ। पुलको शुरुमा लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४३३ रुपैयाँमा ठेक्का सकारेको थियो। २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने २०६७ जेठ ३१ गते सम्झौता गर्‍यो। सम्झौतापछि तत्कालीन प्रधानमन्त्री नेपालले शिलान्यास गरेका थिए।

पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ। पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो। ठेकेदारले १७ वटै स्पानको काम सकेको छ। त्यसै वेला नदी सर्लाहीतिरबाट बग्न थालेपछि पुलको औचित्य नरहने भन्दै हुलाकी राजमार्ग निर्देशनालयले तत्कालै काम बन्द गरेको थियो।

त्यसपछि ठेकेदारले काम गर्न मानेन र निर्देशनालयले ठेक्का तोडेर दोस्रोपटक ठेक्का आह्वान गर्दा २२४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा ठेक्का सकारेको हो। ठेकेदारले २०८१ कात्तिक १० गते काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ गते सम्झौता गरेको थियो। अघिल्लो ठेकेदारले पुलको पिलरको काम सकेको छ। सुपर स्ट्रक्चरको काम बाँकी छ।

पुल बनेको भए रौतहट र सर्लाहीका मानिसलाई आवतजावतमा सहज हुन्थ्यो। अहिले दुवै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन्। वारि बतसपुर, बडहर्वा, राजदेवी लगायतका बासिन्दा डुंगा चढेर पारी खेतमा काम गर्न जान्छन्।

पूर्व प्रधानमन्त्री नेपालकै पार्टीका नेता संघमा भौतिक पूर्वाधारमन्त्री छन् भने गठबन्धनकै मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रष्णप्रसाद यादव रहेका छन्। नेपाली काँग्रेसकै प्रदेश संसद् नागेन्द्र यादवको नेतृत्वमा बडहर्वा पुल नबनेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.