|

काठमाडौं : फागुन १३ गते (भोलि) देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान देशभर सञ्चालन  हुँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार  दादुरा-रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गरिन लागेको हो।

देशभरका ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ। खोप शाखाका  अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (ललितपुर,भक्तपुर र काठमाडौं) सहित तराईका भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित  २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ।

 खोपले गम्भीर संक्रमणबाट बचाउँछ

दादुरा रोग मिजल्स भाइरसबाट हुने अति छिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाइरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ।

दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्युसमेत गराउन सक्छ। रुबेला रोगको असरहरू दादुराभन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखापर्न सक्छन्। बाल मृत्युको कारणमध्ये दादुरा एक प्रमुख कारण हो।

संक्रमण फैलिए मृत्यु पनि हुनसक्छ

दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ। यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वासनली तथा अरू भित्री अंगहरूमा संक्रमण गर्दछ। रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ। सामान्य अवस्थामा एकजना संक्रमित व्यक्तिबाट १८ जनालाई सर्न सक्छ।

त्यसैगरी, यी रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ।

ज्वरो आउनु र शरीरमा राता बिमिरा देखापर्नु दादुरा र रुबेला रोगका मुख्य चिन्ह, लक्षण हुन्। नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रूघा खोकीका लक्षण, चिन्हहरू पनि देखिन सक्छन्।

दादुरा–रुबेला भए यस्ता देखिन्छन् जटिलता

दादुराबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्युसमेत हुनसक्छ।

रुवेलाको संक्रमणबाट हाडजोर्नीहरू सुन्निने वा दु:ख्‍ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलांग हुने र यस प्रकारका जटिलताको कारण बिरामीको मृत्युसमेत हुनसक्छ।

गर्भावस्थामा रुबेला संक्रमण भए बच्चामा गम्भीर असर

गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भमा भएको बच्चामा गम्भीर असर हुन्छ र बच्चा जन्मिँदा विभिन्न विकृतिहरू हुन सक्छन्, जसलाई कन्जेनाइटल रुबेला सिण्ड्रोम भनिन्छ। यस्तो अवस्थामा गर्भपतन नहुने तर मृत बच्चा जन्मने, जन्मँदै कान नसुन्ने, आँखा नदेख्‍ने, मुटुमा गम्भीर असर हुने, मानसिक विकासमा अवरोध हुने, कलेजो, फियोमा असर हुने जस्ता जन्मजात जटिलताहरू हुन्छन्।

दादुरा–रुबेलाको निश्चित औषधी छैन

दादुरा–रुबेला रोगको निश्चित औषधी उपचार छैन। यी रोगको उपचार गर्नु भनेको लक्षण, चिन्हको अपचार गर्नु हो। जस्तै– ज्वरो आएको भएमा पारासिटामोल दिने, पखाला लागेको भएमा पुनर्जलीय झोल दिने, आदि।

यी रोग लाग्नबाट बच्नको लागि दादुरा–रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो। यो खोप नियमित खोपमा ९ महिना र १५ महिनाको उमेरमा २ मात्रा लगाउनै पर्दछ। साथै दादुरा–रुबेला खोप अभियानमा पनि तोकिएको उमेर समूहका सबै बालबालिकालाई थप पटक यो खोप लगाउनै पर्दछ।

खोप अभियान किन?

कोभिड–१९ को महामारीको समयमा नियमित खोपबाट दादुरा–रुबेला खोप लगाउन धेरै बालबालिका छुट भई दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा बालबालिकालाई यो खोप दिएर रोगसँग लड्न सक्ने क्षमता प्रदान गरी संक्रमण दर, रोग दर, मृत्यु दर घटाई सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्नको लागि यो अभियान सञ्चालन गर्नुपरेको हो। अभियानको अवसरमा दादुरा–रुबेला खोप लगाए पनि १५ महिनामुनिका बालबालिकाले नियमित खोपको दुई मात्रा पूरा गर्नुपर्छ।

कहाँ कहा हुँदै छ, खोप अभियान ?

खोप अभियान १३ फागुनदेखि ७ चैतसम्म सञ्चालन हुँदै छ। तर गाउँ-टोलअनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुन्छ। अभियानमा यो खोप नियमित खोप केन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिन्छ। साथै २४ जिल्लाहरूमा विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर खोप केन्द्र सञ्चालन गरिन्छ।

खोप केन्द्र सञ्चालनहुने स्थान र मितिवारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सोधेर अथवा स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर थाहा पाउन सकिन्छ।

जिल्लाअनुसार फरक फरक उमेरकालाई खोप

गत एक वर्षको अवधिमा नेपालको विभिन्न ठाउँमा फैलिएको दादुरा रोगको महामारीमा देखिएका दादुराका बिरामीको उमेर विश्लेषण गर्दा तराई र काठमाडौं उपत्यकाका जिल्लाहरूमा धेरैजसो १५ वर्ष सम्मका बालबालिकामा दादुरा देखिएको थियो।

त्यसैले ती जिल्लाहरूका १५ वर्ष मुनिका बालबालिका यो रोगबाट बढी जोखिममा रहेको देखिएको हुँदा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिने नीति लिइएको हो।  बाँकी जिल्लाहरूमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनेछ।

यो खोप लगाएपछि कुनै असर त हुँदैन?

नेपालमा विगत ३५ वर्षदेखि दादुरा विरुद्धको र ११ वर्षदेखि दादुरा–रुबेला खोप नियमित खोपमार्फत १५ महिनासम्मका बालबालिकालाई दिइँदै आएको छ र हालसम्म कुनै पनि व्यक्तिमा गम्भीर प्रकारको असर देखिएको छैन।

तर, यो खोप लगाएको केही समयपछि कुनै कुनै व्यक्तिमा हल्का ज्वरो आउने, शरीरमा दादुराको जस्तै बिमिराहरू आउने जस्ता सामान्य असरहरू देखिन सक्छन्। यस प्रकारका असरहरू केही दिनपछि आफैँ ठिक हुन्छन्। तर, पहिला दादुरा–रुबेला खोप लगाउँदा गम्भीर प्रकारको कुनै एलर्जी (एनाफाइलाक्सिस) देखिएको थियो भने स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ।

त्यस्तै, एड्सका लक्षणहरू देखापरेको भएमा, रोग प्रतिरोधात्मक शक्ति कम गराउने अवस्था भएमा, सिकिस्त बिरामी भएको बेलामा, उपचार सुरु नगरेका क्षयरोगको बिरामी र गर्भवती महिलाले यो खोप लगाउनु हुँदैन। यी अवस्थाहरू निको भएपश्चात् खोप लिन सकिन्छ।

छुट भएका कुन कुन खोप लगाइन्छ?

यसपटक सञ्चालन गरिने दादुरा–रुबेला खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई डिपिटी हेप बी–हिव (भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, निमोनिया, मेनिनजाइटिस, हेपाटाइटिस बी जस्ता रोगबाट बचाउने खोप), पिसिभी (निमोनियाबाट बचाउने खोप) र आई.पि.भी. (पोलियोबाट बचाउने खोप) को छुट मात्रा अभियानको दिनमा नै लगाइन्छ।

५ वर्ष मुनिका बालबालिकाहरूको नियमित खोप छुट भएको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन पाइन्छ। तर, नियमित खोप तालिकाअनुसार लगाएमा खोपको प्रभावकारिता उच्च हुन्छ। नियमित खोप सेवा लिने बेलामा पनि एकैदिन एकभन्दा बढी खोपहरू लगाइन्छ। यसबाट बालबालिकालाई कुनै असर हुँदैन।

शुक्रबार दादुरारुबेला खोप अभियानबारे खोप शाखा प्रमुख डा अभियान गौतमले पस्तुत गरेको विवरणका आधारमा तयार पारिएको ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.