|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ। बिहीबार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाट स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो।

रास्वपाले  आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनका लागि एक स्वतन्त्र थिङ्क ट्याङ्क बनाउनुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै स्टक सुनिश्चित गर्ने, दाबी प्रणालीलाई चुस्त बनाउने, बिमित एवं सेवा प्रदायकको सूचना तथा संचारका लागि लागि तीन अंकको हटलाइनको व्यवस्था गर्ने जस्ता कामहरु अविलम्व गर्नुपर्ने माग राखेको छ।

सुझाव पत्र बुझाएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीकी सांसद डा. तोसिमा कार्कीले अहिलेका स्वास्थ्य क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका लागि २६ बुँदे सुझाव पत्र बुझाएको बताइन्।

उनले वीर अस्पतालमा २७-२८ वटा बेड दैनिक रुपमा आइसियु र भेन्टिलेटरहरु खालि रहेको तर आम नागरिकप पहुँच बाहिर रहेको विषयमा विशेष ध्यान दिन स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएको बताए।

उनले ठूला सरकारी अस्पतालमा आम नागरिकले पाउने सेवाहरु अनलाइन माध्यमबाट हेर्न मिल्नेगरी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताइन्।

रगत संकलन र व्यवस्थापनमा विभिन्न खाले समस्या आइरहेको भन्दै त्यसलाई समाधान गर्ने दिशामा कसरी जान सकिन्छ? भन्ने बारेमा पनि स्वास्थ्यमन्त्री यादवसँग छलफल भएको बताए।

उनले भनिन्, ‘ हामीले २६ बुँदे सुझाव पत्र लिएर आएका थियौँ। हामीले सदनमा उठाउन खोजेको एउटा विषय वीर अस्पतालमा २७÷२८ वटा बेड दैनिक रुपमा आइसियु र भेन्टिलेटरहरु खालि रहेको अवस्थामा यो भएको पाँच महिना हुन लागिसक्यो, नागरिकहरुले आइसियु नपाएर छट्पटाइरहनुभएको छ, यता आइसियु बेड र भेन्टिलेटरहरु खालि छन्, कान्ति, पाटन, वीरमा ठूला सरकारी अस्पतालमा यस्ता सेवाहरु धेरै नै खालि छन्, कुन अवस्थामा छ र कति खालि छन् भनेर नागरिकले हेर्न मिल्नेगरी व्यवस्था गरी सूचना केन्द्र बनाएर वा वेबसाइटमा राख्नुपर्छ भन्ने माग छ।'

उपचार तथा स्वास्थ्यसेवामा शुल्क नतोकिएका कारण र मनोमानी रुपमा शुल्क असुलिएको भन्दै आम नागरिक एवं  बिरामीमा अन्योल रहेकाले यसलाई द्रुतगतिमा समाधान गर्नुपर्ने सुझाव दिएको छ। चिकित्सक तथा स्वास्थ्य मानव श्रोतको सुनिश्चित व्यवस्थापन गर्न शिघ्रातिशिघ्र आवश्यक दरवन्दी श्रृजना गर्ने एवं वैज्ञानिक ढंगको परिचालन बिधि लागू गर्ने गरी कार्य अघि बढाउनुपर्ने बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.