|

काठमाडौँ : भ्रष्टाचार तथा अन्य विभिन्न घटनामा हिरासतमा पुग्ने शक्तिशाली व्यक्तिले प्रहरी हिरासत छलेर अस्पताल बस्ने बहाना बनाउन थालेपछि सरकारले  त्यसबारे कार्यविधि बनाउने तयारी गरेको छ।

गृह मन्त्रालयले प्रहरी हिरासत छल्न स्वास्थ्यको बहाना बनाउँदै अस्पताल बस्ने प्रवृत्ति कम गर्न अध्ययन गरेर रायसहितको प्रतिवेदन दिन गृह मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई  निर्देशन समेत दिइसकेको छ। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने र चिकित्सकले गरेका सिफारिससमेत असामान्य र अविश्वसनीय हुँदा जनस्तरबाट पनि प्रश्न उठेपछि गृह मन्त्रालयले काउन्सिललाई प्रतिवेदन दिन आग्रह गरेको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतीश देवका अनुसार उक्त निर्देशन सहितको पत्रको पहिलो बुँदामा पक्राउ परेका व्यक्तिका लागि चिकित्सकीय सेवा उपलब्ध गराउनेबारे विभिन्न देशले गरेका कानुनी प्रबन्ध, बनाएका मापदण्ड र चिकित्सकीय आधार र संलग्नता छ कि छैन हेर्न भनिएको छ।

दोस्रो बुँदामा चिकित्सकीय सेवा उपलब्ध गराउने सम्बन्धी नेपालको विद्यमान कानुनी प्रबन्ध वा अभ्यासमा नेपाल मेडिकल काउन्सिलको संलग्नता र हालसम्म काउन्सिल सहभागी भएको घटनाको विवरण र ती घटनाको निष्कर्ष के छ ? यसको अध्ययन गर्न मन्त्रालयको निर्देशन सहितको पत्र काउन्सिलमा आएको र अब यस विषयमा सरोकारवालासँग छलफल गरेर अघि बढिने काउन्सिलका रजिष्ट्रार डा. सतीश देवले बताए।

यस्तै चिकित्सकीय सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचारसंहिता आकर्षित हुने/नहुने अवस्था तथा सम्भावित कारबाहीको आधार र प्रावधानको विषयमा समेत प्रतिवेदन तयार पार्न भनिएको रजिष्ट्रार डा. देवले बताए।

उनले भने‚ ‘हिरासतमा पुगेका व्यक्तिमा कस्ता कस्ता स्वास्थ्य समस्या भए अस्पताल भर्ना गर्नु पर्छ वा पर्दैन भनेर अध्ययन गरेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन आएको छ। अब हामीले यसमा काम गर्छौँ र सरोकारवालासँगको छलफलपछि राय सहितको प्रतिवेदन पठाउछौँ’‚ डा. देवले भने।

यस्तै हालसम्म प्रहरी हिरासतमा पुगेका वा अन्य विभिन्न कारणले नजरबन्दमा बसिरहेका व्यक्तिलाई कस्ता स्वास्थ्य समस्या हुँदा अस्पतालमा भर्ना भएर राख्नुपर्ने वा कस्तो अवस्थामा राख्नु नपर्ने भनेर कुनै कार्यविधि नबनाएको समेत रजिष्ट्रार डा. देवले बताए।

केही समयअघि लेनदेन विवादमा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा बस्न छाडेर स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौंकै एक निजी अस्पतालमा भर्ना भएर बसेका थिए।

यसैगरी हालै मात्र तस्करीको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि प्रहरीको हिरासत कक्षमा बस्न छलेर निकै सुविधा सम्पन्न मानिएको नर्भिक इन्टरनेशनल अस्पताल पुगेर भर्ना भएका थिए। उनलाई यही अस्पतालमा राखेर थप अनुसन्धान गरिएको थियो। उनले आफ्नो स्वास्थ्य अवस्था खराब रहेको भन्दै अदालतसमक्ष निवेदन गरेकाले अदालतको आदेशमा नै प्रहरीले नर्भिक अस्पतालमा राखेर थप अनुसन्धान गरेको थियो।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी पनि अस्पताल भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.