|

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि प्रहरी प्रशासनलाई त्यहाँका व्यवासायीकोमा गएर खाना नखान निर्देशन दिएका छन्। 

शुक्रवार रात्रिकालीन व्यवसाय सञ्चालन सरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पसल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बहानामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसर, कर्मचारीलाई एक छाक पनि खुवाउनु नपर्ने बताए। उनले त्यस्तो लोभ प्रहरीले नराख्ने दावी पनि गरे।

‘प्रहरी प्रशासनलाई म स्पष्ट निर्देश के गर्न चाहन्छु भने पसल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बहानामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसर, कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु पर्दैन‚ उहाँहरु आफ्नै खाना खानु हुन्छ‚’ उनले भने‚ ‘उहाँहरुलाई खुवाउने, राख्ने र उपहार दिने गर्नुभयो भने तपाईंहरुको व्यवसायमा ताला लाग्नसक्छ। त्यो लोभ प्रहरीले राख्ने छैन।’

उनले प्रहरीहरुले आफ्नै खाना खाने भन्दै प्रहरीहरुलाई खाना खुवाउने, राख्ने र उपहार दिने व्यवसायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनीसमेत दिए। 

‘गृहको नीति व्यवसायीलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने हो। व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नुपर्दैन‚ त्यसभन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न हामी आएका हौँ। श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण भएको छ कि छैन भन्नेमा सरकारको विशेष ध्यान जानेछ‚ त्यहाँ महिला दिदीबहिनी सुरक्षित छन् कि छैनन्‚’ उनले भने‚ ‘कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ सेवन गरिरहेका छन् कि छैनन् त्यहाँ ध्यान जानेछ। त्यस्तो भयो भने पसल व्यवसायमा सिल लगाउने अधिकार दिन्छौँ।’

उनले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिबद्धता जनाए।

गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचार बेवास्ता गर्ने गरी नजाने बताए। उनले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे। 

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उनको भनाई छ। गृहमन्त्री लामिछानेले धेरै मानिस सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचार अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए। 

उनले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नुमा धेरै फरक हुने बताए। उनले व्यवसाय जोगाउन सरकारले यो कदम चालेको धारणा व्यक्त गरे।

‘रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुहुन्न भन्ने कम आवाज भएका साथीहरुको कुरा सुन्नुपर्छ भन्ने लाग्छ। उहाँहरुका समस्या समाधान नगरी धेरै मानिसले भनेकै भरमा अगाडि बढ्नु हुँदैन भन्ने कुरामा स्पष्ट छु। स्थानीय र घरधनीको अधिकार सुरक्षित बनोस्‚’ उनले भने, ‘धेरै मानिस सहमत भएका आधारमा अल्पसंख्यक कम मत भएकाहरुको विचार अवमूल्यन गरेर जाने पक्षमा सरकार छैन। ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नुमा धेरै फरक छ।’

उनले २४सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताए। पूर्णरुपमा व्यावसायिक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे। उनले ठमेलको हकमा दुईवटा कुरा रहेको बताए। 

गृहमन्त्री लामिछानेले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृहले एक्शन प्लान बनाइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.