|

काठमाडौँ : चन्द्रागिरीका संगम थापा मगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आइतवार स्वर्ण जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा क्योरोगीतर्फ चन्द्रागिरीका संगमले पुरुष ३१ केजी तौलसमूह र सौरवले पुरुष २८ केजी तौलसमूहमा स्वर्ण जिते। संगमले फाइनलमा पर्वतका प्रसन्न थापालाई हराए। सौरवले भने फाइनलमा धुलीखेलका रिजन शिवभक्तलाई पराजित गरे। यो तौलसमूहमा नेशनल तेक्वान्दो एकेडेमीका अर्थ कुइँकेल र रोज तितुङले कांस्य पदक जिते।

कोटेश्वर तेक्वान्दो डोजाङ र नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए)मा पुरुषकै २२ केजी तौलसमूहमा सिन्धुपाल्चोकका कुशल नेपाली र २५ केजी तौलसमूहमा ककनीका सुवास तामाङले स्वर्ण पदक जिते। फाइनलमा कुशलले कोटेश्वर डोजाङका अनमोल केसीलाई हराए। यसै तौल समूहमा प्राञ्जलीका अंकितबाबु अधिकारी र हिमाल पाण्डेले काँस्य पदक जिते। सुवासले भने फाइनलमा नेशनल तेक्वान्दो एकेडेमीका आहन तामाङलाई पराजित गरे।

प्रकाश समशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले यो प्रतियोगिता खेलेमा खेलाडीलाई कारबाही गर्ने चेतावनी दिएको थियो। सोही कारण विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफका खेलाडीले भने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएनन्। यद्यपि, प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरबाट करिब ६ सय खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरे।

महिला जुनियर ३१ केजी तौलसमूहमा चन्द्रागिरीकी सेजल रोक्काले फाइनलमा पर्वतकी कृतिका थापालाई हराउँदै स्वर्ण जिते।

यसै तौल समूहमा कञ्चनपुरकी पूजा सार्की र नवजीवनकी रोशनी आचार्यले कांस्य पदक जिते। जुनियर महिला २८ केजीमा सुदूरपश्चिमकी दीपिका थापा र २५ केजीमा चन्द्रागिरीकी नेओमी महर्जन स्वर्ण पदक जित्न सफल भए। फाइनलमा दीपिकाले दोलखाकी अर्पणा कुमाल र नेओमीले चन्द्रागिरीकै मारिया तामाङलाई हराए। दीपिकाको तौलसमूहमा नेशनल तेक्वान्दो एकेडेमीकी श्वेनी लामा र बैभारी सापकोटाले कांस्य पदक जिते। २५ केजीमा भने छेत्रपालकी रोनिता पाण्डे र प्रञ्जलीकी सीता मुनिकारले कांस्य पदक जिते।

जुनियर महिला २२ केजीमा नेसनल तेक्वान्दो एकेडेमी (एनटिए)की पुनम घिमिरेले पर्वतकी ट्‌विङकल मल्ललाई हराउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाइन्। यसै विधामा चन्द्रागिरीकी लियाना आले मगर र मुस्कान सेवाकी देविका आलेमगरले कांस्य पदक जिते। प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष/महिलामा समान ६/६ गरी कुल १२ स्पर्धा भएको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.