news

|

सुर्खेत : ‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने गलत भाष्य निर्माण भएको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले चिन्ता व्यक्त गरे। यस्तो गलत भाष्यले पठन संस्कृतिको विकास हुन नसकेको उनको गुनासो थियो।

उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘यो देश पढेलेखेकाहरूले बिगारे भनिन्छ तर यहाँ पढेलेखेका मान्छेको कदर छैन।’ पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुने गरेको र अहिले आक्रोश पोखिने उनले बताए।

प्रतिनिधिसभाका सदस्य राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन्।

‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भएको छ, त्यो गलत हो’, उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ।’

कर्णाली साहित्य महोत्सवअन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए। उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश विदेशका अवस्थाका बारेमा जानकार हुन पढ्नुपर्नेमा जोड दिए।

अहिलेको सूचनाप्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए। मानिसले वर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए।

‘म हरेक दिन पढिरहेको हुन्छु, कुनै वेला बिहान मैले दुई घण्टा पढिनँ भने त्यो दिन बर्बाद भएजस्तो ठान्थेँ’‚ राउतले भने।

उनले अहिलेको सरकार संसद्प्रति जिम्मेवार नभएको टिप्पणी गरे। पहिलेका तुलनामा अहिले संसद्‌मा सैद्धान्तिक छलफलको महत्त्व घटेको उनले बताए। संसद्‌मा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए।

उक्त सत्रमा वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृति विकास गर्न आवश्यक रहेको बताइन्। अहिलेको समयमा युवाहरूले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.