|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन्।

बिहीवार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको अन्तिम लक्ष्य भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि दुविधामा नपर्न बताए। उनले सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त रहेको बताए।

उनले अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयास केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए। उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तरनिहित रहेको बताए।

उनले नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखीकन र कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने कुरालाई उच्च प्राथमिकता नदिईकन उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनैपनि परिणाम ननिस्कने बताए।

प्रधानमन्त्री दाहालले भने, ‘हामी के कुरामा दुविधामा रहनु हुँदैन भने हाम्रो अन्तिम लक्ष्य भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो। त्यसमा विमति हुनुपर्ने कारण छैन। १६ औं योजनाले यसैतर्फ विशेष जोड दिन खोजेको छ। उत्पादन, उत्पाकत्व र रोजगारीभन्दा म मान्य सदस्यहरूले, नेताजीहरूले जे राख्नुभयो म त्यसमा सहमत छु। नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखीकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिईकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनैपनि परिणाम निस्किँदैन।’

प्रधानमन्त्री दाहालले नेपाल लगानीको सम्भावना भएको देशमात्रै नभई भरपर्दो गन्तव्य भएको उल्लेख गरे। उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए।

उनले युवा जनशक्तिको सीप, सामर्थ्य र क्षमतालाई विकासप्रतिको हुटहुटीमा उपयोग गर्दै उपलब्ध प्राकृतिक स्रोत एवं साधनको कुशल एवं प्रभावकारी परिचालन गर्नसके देशको समृद्धि छोटो अवधिमा नै सम्भव रहेको बताए। उनले युवा जनशक्तिको प्रचुरता धेरै वर्ष नरहने भन्दै सायद यो अन्तिम हुने रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.