|

हेटौँडा : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा बैठक भने जम्मा ६ पटकमात्र बसेको छ।

प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा ५ दिनमा ५ घण्टा ११ मिनेटमात्र बैठक चलेका थिए। 

सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो। 

विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेयकमा मात्रै सैद्धान्तिक छलफल भयो। 

अधिवेशनभर हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ। 

हिउँदे अधिवेशनको पहिलो बैठकले प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

विसं २०८० फागुन १७ मा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन र सोही दिन बसेको तेस्रो बैठकमा हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेश गरी सैद्धान्तिक छलफल भएको थियो।

२९ फागुनमा बसेको चौथो बैठकमा विशेष समितिको प्रतिवेदन पेश भएको थियो भने ३० फागुनमा भएको पाँचौँ बैठकले सो प्रतिवेदन पारित गरेको थियो। 

त्यसैगरी चैत १९ मा भएको हिउँदे अधिवेशनको अन्तिम तथा छैटौँ बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका थिए।

त्यसयता बैठक नै नबसी बुधवारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। ​सोहीबमोजिम प्रदेश प्रमुख शर्माले बुधवार साँझ बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेका हुन्।

आगामी आव ०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकाले अधिवेशन अन्त्य गरिएको र आगामी जेठबाट प्रि–बजेट छलफल शुरू गर्ने गरी बजेट अधिवेशन आह्वान गर्ने प्रदेश सरकारको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.