उपमेयरसहित अन्य जनप्रतिनिधि आक्रोशित

|

रौतहट : रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले आफ्नै घरमा नगरपालिकाको हिउँदे अधिवेशन गरेपछि उपमेयरसहित बाँकी जनप्रतिनिधि आक्रोशित बनेका छन्।

मेयर जैसवालमाथि करोडौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरु मंगलवार नवौँ दिन पनि खबरदारी जारी राखेका छन्। 

अर्कोतर्फ मेयर जैसवालले कटहरिया–९ डुमरियास्थित आफ्नो घरमै पूर्ण बहुमतका साथ हिउँदे अधिवेशन सम्पन्न भएको दावी गरेका छन्। मेयर पक्षले अधिवेशनको खुशीयाली मनाइरहेका छन् भने उपमेयरसहित जनप्रतिनिधिहरु जाडोका बाबजुद दिनभरि धर्नामा बस्दै आएका छन्।

उपमेयर रितादेवी यादव, वडा नं २ का अध्यक्ष भूपेन्द्र कुशवाहा वडा नं ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्ववडाध्यक्ष उमेश यादव, बाल्मिकी यादव, वडा प्रत्याशी हरेन्द्र यादवलगायत दर्जनौँ नेता कार्यकर्ताले ८ बुँदे मागसहित नगरपालिकामा तालाबन्दी गरेका छन्।

आन्दोलनरत जनप्रतिनिधि डेढ सातादेखि प्रत्येक दिन कार्यालय समयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा खबरदारीसहित धर्नामा बस्दै आएका छन्।  

माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने बरु थप सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्। तर उनीहरुको चेतावनीको बेवास्ता गर्दै मेयर अजयप्रकाश जैसवालले गत आइतवार बहुमतसहित हिउँदे अधिवेशन सम्पन्न भएको दाबी गरेका छन्।

कटहरिया नगरपालिकाका ९ वटा वडामध्ये ५ जना वडाध्यक्ष, १९ कार्यपालिका सदस्यमध्ये १४ जना कार्यपालिका सदस्य र मेयरसहित बहुमतबाट अधिवेशन सम्पन्न भएको दावी मेयर जैसवालले गरेका छन्। 

अधिवेशनमा जनप्रतिनिधिका साथै प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंहलगायत नगरपालिकाका कर्मचारीको समेत सहभागिता रहेको थियो।

नगरपालिकाको प्राङ्गणमा विवाद देखिएकाले नगरभित्र बहुमतसाथ हिउँदे अधिवेशन गरिएको मेयर जैसवालले प्रतिक्रिया दिएका छन् । 

कटहरिया-४ का वडाध्यक्ष चन्दन कुशवाहाले जनताको माग र जनतालाई अवहेलना गरी निजी स्वार्थका लागि आफ्नो निजी घरमा गरिएको नगर अधिवेशनले कटहरिया नगरवासीको हित हुन नसक्ने बताएका छन्।

‘कटहरिया नगरपालिकामा बहुमत हुँदाहुँदै कार्यालयमा हिउँदे अधिवेशन नगरी आफ्नो घरमा कार्यपालिका सदस्य र कर्मचारीलाई बोलाई गरिएको हिउँदे अधिवेशनको घोर भर्त्सना गर्दछु‚’ वडाध्यक्ष कुशवाहाले भने।

चोर बाटोबाट गरिएको अधिवेशनको कुनै मान्यता नहुने र आन्दोलन जारी रहने उपमेयर रितादेवी यादवले बताएकी छन्।

नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

विगतमा नगर क्षेत्रभित्र ह्यान्डपाइप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत् पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नुपर्ने माग गरिएको छ।

आव ०७९/८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघसंस्थाबाट आएको योजनाको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोरको संख्या, नाम ठेगानासहित उनीहरूको तलबमानको विवरण तथा भुक्तानीबारे लिखित जानकारी गराउन पनि उनीहरुले माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.