|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान शुरु गरेको छ।

बिहीवार नेपाली सेनाको जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन्। आजदेखि शुरु भएको अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिनेछ। ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे।

उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रूपमा लिने गरिएको बताए। उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्त्व रहेको बताए। उनले पछिल्ला वर्षमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोर पनि थुप्रिन थालेकाले सरसफाइमा ध्यान पुर्‍याउनुपरेको बताए।

प्रधानसेनापति शर्माले भने, ‘पछिल्लो वर्षमा हिमाल आरोहणमा वृद्धि भएको छ। आरोहण बढेयता ती क्षेत्रमा थुप्रिने गरेको फोहर र त्यसको उचित व्यवस्थापन मुख्य चुनौती हुँदै आइरहेको छ। यसले हिमालको सौन्दर्यलाई असर पारिरहेको छ। सबै मिलेर गर्‍यौँ भने हिमाल सफा गर्न सम्भव छ। सबैले साझा प्रयास गर्नुपर्छ।’

कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र त्योभन्दा माथिका उचाइबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको जानकारी दिए।

उनले नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए सफा हिमाल अभियान २०२४ गरिएको पनि बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.