|
तस्वीर : रोयटर्स

काठमाडौँ : गत शनिबार मध्य रातमा अचानक ठूलो साइरनको आवाजले इजरायली ब्युँझिए। यो आवाज इरानको आक्रमणबाट सुरक्षित रूपमा लुक्ने चेतावनी थियो। विभिन्न आक्रमण भोग्दै आएका इजरायलीका लागि ‍यस्तो साइरन सामान्य हो। इरानी क्षेप्यास्त्र र ड्रोन इजरायली भूमिमा पुग्नुअघि नै नष्ट गरिएका थिए।

इरानी आक्रमण असफल बनाएको तीन दिनपछि इजरायलले सबै जानकारी सार्वजनिक गरेको छ। इरानले इजरायलमाथि ३३१ मिसाइल र ड्रोन प्रहार गरेको थियो। प्रहार गरिएका १८५ ड्रोन र ३६ वटै क्रूज क्षेप्यास्त्र इजरायलले नष्ट गर्‍यो। ११० ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये १०३ लाई खसाल्यो। ७ वटा ब्यालेस्टिक मिसाइल मात्रै इजरायलमा झरे। ती क्षेप्यास्त्रले इजरायलको नवातिम हवाइ अड्डामा सामान्य क्षति र क्षेप्यास्त्रको टुक्रा लागेर ६ वर्षीय बालक घाइते भए। 

शनिबार भएको इरानी आक्रमणमा एरो र आइरन डोम रक्षा प्रणालीले प्रमुख भूमिका खेलेका थिए। एरोको यो पहिलो परीक्षण पनि थियो।

इजरायलको रक्षा प्रणाली

इजरायलले प्याट्रियट‚ डेभिड स्लिङ‚ आइरन डोम र एरो रक्षा प्रणाली संयोजन गरी आफूलाई सुरक्षित राख्छ। आइरन डोमले ड्रोन र छोटो दूरीका आक्रमण रोक्छ। डेभिड स्लिङले मध्यम दूरीको आक्रमण रोक्छ भने एरोले लामो दूरीका क्षेप्यास्त्र आक्रमण रोक्छ।

प्याट्रियट

यो इजरायलको सबैभन्दा पुरानो क्षेप्यास्त्र रक्षा प्रणाली हो। प्याट्रियट १९९१ मा पहिलो खाडी युद्धका वेला प्रयोग भएको थियो। त्यसवेला इराकी नेता सद्दाम हुसेनले इजरायलमा स्कड क्षेप्यास्त्र प्रहार गर्दा​ त्यसलाई रोक्न यो प्रणाली प्रयोग गरिएको थियो। यो अब ड्रोनसहितका विमानहरू खसाल्न प्रयोग गरिन्छ।

 


डेभिड स्लिङ

यो रक्षा प्रणाली अमेरिकासँगको सहकार्यमा विकास गरिएको हो। डेभिड स्लिङ मध्यम दूरीको वायु रक्षा प्रणाली हो। यसले १०० देखि २०० किलोमिटरको दूरीमा लक्ष्य पत्ता लगाउन र नष्ट गर्न सक्छ। क्रुज क्षेप्यास्त्र र ड्रोन रोक्ने उद्देश्यले यो बनाइएको हो। लेबनानबाट हिजबुल्लाले आफूमाथि गरिने मध्यम दूरीका क्षेप्यास्त्र नष्ट गर्न इजरायलले यो प्रणाली प्रयोग गर्छ।

आइरन बिम

लेजर प्रविधिबाट आउने खतरा रोक्न इजरायलले नयाँ प्रणाली ‘आइरन बिम’ विकास गरिरहेको छ। लेजर बिम विद्यमान प्रणालीभन्दा सञ्चालन गर्न धेरै सस्तो छ। केही समयपछि यो प्रणाली सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

आइरन डोम

आइरन डोम प्रणाली अमेरिकाको सहयोगमा इजरायलले विकास गरेको हो। शहरको सुरक्षाका लागि बनाइएको यो छोटो दूरीका रकेट खसाल्न चर्चित छ। यो हमास र हिजबुल्लाबाट हुने रकेट आक्रमण रोक्न सफल भएको छ। आइरन डोमको सफलता दर ९० प्रतिशतभन्दा बढी रहेको छ।

आइरन डोम प्रणाली भनेको जमिनबाट हावामा मार हान्ने हवाइ प्रतिरक्षा प्रणाली हो। यो प्रतिरक्षा प्रणालीले ४ किलोमिटरदेखि ७० किलोमिटरको दूरीसम्म लक्ष्यलाई निशाना बनाउन र नष्ट गर्न सक्छ।

सन् २००६ मा हिजबुल्लाले रकेट आक्रमण गरेपछि इजरायलले मिसाइल प्रतिरक्षा प्रणाली विकास गर्न शुरु गरेको थियो। मानवरहित ड्रोन आक्रमणको बढ्दो खतरापछि इजरायलले सन् २०२१ मा आइरन डोम प्रणालीको स्तरोन्नति गरेको थियो। यसपछि यसले छिटोछिटो एकैपटक गरिने आक्रमण रोक्न सक्छ। यो संसारकै सबैभन्दा आधुनिक वायु रक्षाप्रणाली मानिन्छ।

आइरन डोमले तीन तहमा काम गर्छ। यसमा राडार‚ लन्चर र कमाण्ड पोस्ट हुन्छ। यसले राडारमार्फत कुनै पनि खतरा पहिचान गर्छ। आकाशबाट कुनै खतरा भएमा क्षेप्यास्त्रले लन्चरबाट जवाफी मिसाइल आक्रमण गर्छ र हावामा रहेको शंकास्पद वस्तुलाई आकाशमै नष्ट गर्छ। कमाण्ड पोस्टले यो सम्पूर्ण प्रक्रिया निगरानी गर्छ। आइरन डोममा तामिर मिसाइल प्रयोग गरिएको छ।

यो संसारको सबैभन्दा महँगो क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो। इजरायलले यसलाई विकास गर्न करोडौँ डलर खर्च गरेको छ। यसमा प्रयोग हुने प्रत्येक इन्टरसेप्टर बनाउन करिब १.५ लाख डलर खर्च हुन्छ। यसका लागि अमेरिकाले इजरायललाई २० करोड डलर सहयोग गरेको थियो।

एरो

यो निकै उच्चस्तरको सुरक्षा प्रणाली मानिन्छ। यो प्रणाली ब्यालेस्टिकलगायतका लामो दूरीका क्षेप्यास्त्र रोक्न बनाइएको हो। यमनबाट हुथी विद्रोहीहरूले प्रक्षेपण गरेको लामो दूरीको मिसाइल रोक्न इजरायलले एरो प्रयोग गर्छ।

यो काम सन् १९८० दशकको उत्तरार्धमा शुरु भएको थियो। एरो-१ लाई एरो-२ मा विकास गरियो। उन्नत एरो-३ पछि परीक्षण गरी इजरायलको वायु रक्षा प्रणालीमा समावेश गरिएको थियो। यसमा ग्रीन पाइन फायर कन्ट्रोल राडार जडान गरिएको छ।

यो क्षेप्यास्त्र ११ हजार किमिको गतिमा लक्ष्यतर्फ बढ्छ र यदि कुनै कारणले शत्रुको क्षेप्यास्त्रलाई निशाना बनाउन सकेन भने पनि यसले दुश्मनको क्षेप्यास्त्रलाई ४० मिटरभित्र विस्फोट गर्न सक्छ।

एरो प्रणालीमा मिसाइल लन्चर, ग्रीन पाइन फायर कन्ट्रोल राडार (एफसीआर), हेजलनट ट्री लन्च कन्ट्रोल सेन्टर र सिट्रोन ट्री ब्याटल म्यानेजमेन्ट सिस्टम हुन्छ। राडारले क्षेप्यास्त्र आक्रमणको खतरालाई निरन्तर निगरानी गर्छ। लक्ष्य पत्ता लाग्नेबित्तिकै‚ यसको मार्ग‚ गति र वास्तविक समय जानकारी नियन्त्रण केन्द्रमा पठाइन्छ। क्षेप्यास्त्र बस्ती वा सैन्य प्रतिष्ठानहरू तर्फ बढेको देखियो भने प्रत्याक्रमण शुरु हुन्छ।

ग्रीन पाइन राडारले २ हजार ४०० किलोमिटरसम्मको लक्ष्य पत्ता लगाउन सक्छ। एकैपटक १४ वटा निशानामा प्रत्याक्रमण गर्नुका साथै १०० किलोमिटरको उचाइमा रहेका क्षेप्यास्त्रलाई नष्ट गर्न सक्छ।

२०१५ मा पहिलो पटक परीक्षण गरिएको एरो-३ लामो दूरीका आक्रमण रोक्ने इजरायलको सबैभन्दा नयाँ वायु रक्षा प्रणाली हो। यसको पहिलो सफल प्रयोग २०२३ को नोभेम्बरमा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.