|

इलाम : इलाम–२ को चुनावी प्रभाव पार्ने फ्याक्टर लारुम्बा क्षेत्र हो। विगतमा लारुम्बा निर्णायक मतको रूपमा रहन्थ्यो। किरात धर्मगुरु आत्मानन्दको प्रभाव इलाम–२ मा पर्ने माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माईको महमाई क्षेत्र (वडा नं ६, ७ र ८) मा बढीजसो पाइन्छ। इलामको निर्वाचनमा लिङ्देन नै निर्णायकको रूपमा चर्चा गरिँदै आएको छ।

सधैँको निर्वाचन जस्तै योपटक पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका नेता शेखर कोइराला, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतले गुरुसमक्ष सहयोग याचना गरे।

विगत २३ वर्षदेखि सुवासचन्द्र नेम्वाङले इलाम–२ मा चुनावी अभियान शुरु गर्नुपूर्व माङसेबुङ गाउँपालिका–५ लारुम्बामा रहेको किरात धर्मगुरु आत्मानन्द लिङदेनसँग आशीर्वाद लिन्थे। २०५६ देखि २०८० सम्म इलाम–२ मा एमालेको विरासत नेम्वाङले धानेका थिए। योपटक सुवासका छोरा सुहाङले बाबुको बाटो पछ्याएनन्। पहिचानको मुद्दाका कारण सुहाङले गुरुको आशीर्वादविना अभियान शुरु गरेको अड्कल काटिएको छ।

२०७९ को निर्वाचनमा समेत दलबल सहित माङसेबुङमा रहेका गुरु आत्मानन्दसँग आशीर्वाद लिन पुगेका वेला गुरुले सुवास नेम्वाङलाई यस क्षेत्रको भविष्य यहाँकै हातमा छ भन्दा पुरानै कामका विषयमा र गर्नुपर्ने बाटोको कुरा बाहेक अरू कुरा राख्न सकेका थिएनन्।

यसरी नै गठबन्धनका उम्मेदवार डम्बर खड्कासँग पनि गुरुले पुरानै मुद्दा उठाउँदा आफू सचेत रहेको मात्र बताएका थिए। गुरुकहाँ दमक–रवि सडकका मुद्दा लिएर आउने उम्मेदवारहरूको लर्को उत्तिकै थियो। संघका समानुपातिक उम्मेदवारदेखि लिएर प्रदेशसम्मका उम्मेदवारहरू शरणमा थिए।

उनीहरूको एउटै भनाइ थियो, ‘गुरु यसपालिको निर्वाचनमा आशीर्वाद प्रदान होस्।’ गुरु आत्मानन्दले ३० वर्षअघिदेखि उठाउँदै आएको मुद्दा पटक–पटक उम्मेदवारलाई भनिरहे। उम्मेदवारहरूले पनि गुरुको भनाइप्रति गम्भीर ध्यान भएको भन्ने शब्द बाहेक अरू भन्न सकेनन्। जसका कारण दलहरूप्रति गुरुको विश्वास घट्दै गएको उनी निकट बताउँछन्।

गुरुलाई फकाउनकै लागि दलहरूले २०७९ वैशाख ३० को निर्वाचनमा माङसेबुङको वडा नम्बर ५ मा उम्मेदवारी समेत दिएनन्। धर्मगुरु लिङदेनले राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट यसअघि पनि वडाध्यक्ष जितेका नरेन्द्रकुमार राईलाई समर्थन गरेपछि अन्य दलले उम्मेदवारी नदिएका हुन्।

गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमात्रै होइन, नेकपा एमाले र राप्रपाले समेत त्यहाँ वडाध्यक्षको उम्मेदवारी दिएनन्।

गुरुसँगको भेटमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवार डम्बर खड्काको पक्षमा खुल्न आग्रह गरेर फर्किएका थिए। त्यसो त अघिल्लो निर्वाचनमा पनि खड्कालाई नै धर्मगुरुले समर्थन गरेको चर्चा छ। यद्यपि एमालेका सुवास नेम्वाङसँग १४४ मतले पराजित भएका थिए।

रास्वपाका सभापति रवि लामिछानेसँगै श्रममन्त्री डोलप्रसाद अर्याल, सांसद निशा डाँगी लगायतका केन्द्रीय नेताहरू गुरुको आशीर्वाद लिन लारुम्बा पुगेका थिए तर स्थानीयले संघीयता र पहिचानको मुद्दामा पार्टीको लाइनबारे सोधेपछि गोलमटोल जवाफ दिएर फर्किएका थिए।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि शुक्रवार लिङदेनलाई भेट्न पुगेका थिए। खनालसँग कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु र कोशी प्रदेशका पूर्वमन्त्री खिनु लङ्वा पनि सहभागी थिए। गठबन्धनमा आबद्ध नेकपा समाजवादीले इलाम २ मा आफ्नै उम्मेदवार उठाएको छ। सत्ता गठबन्धनमा आबद्ध नेकपा समाजवादीले इलाममा जीतबहादुर राईलाई उम्मेदवार बनाएको  छ। खनालले भेटेर धर्मगुरुसँग आफ्नो उम्मेदवारको पक्षमा सहयोग गर्न आग्रह गरेका थिए।

इलाम–२ मा यतिवेला पहिचानको मुद्दा पेचिलो बन्दै गएको छ। कोशी प्रदेशको नामकरणदेखि नै एमालेसहित मूलधारका दलप्रति पहिचान पक्षधरको नजर फेरिएको छ। जसको प्रभाव अहिले इलाम-२ मा देउमाई, चुलाचुली, फाकफोथुम र माङ्सेबुङ क्षेत्रमा देखिएको छ।

एमालेले पहिचान स्विकार्ने अवस्था नआएपछि अहिले पहिचान पक्षधरको नेतृत्व गर्दै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) चुनावी मैदानमा छन्। पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका थेगिमले शिक्षण पेसाबाट अवकाशपछि लारुम्बामै बसेर गुरुको सेवा गरेको तथा कोशी प्रदेश नामकरणप्रति गुरुको असन्तुष्टि रहेको भन्ने तर्कलाई अघि सारेर थेगिमलाई गुरुको समर्थन रहने देखिन्छ।

लिम्बु किराँत धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष रहेका लिम्बुले मुढा चिह्नबाट आफ्नो पक्षमा माहोल तयार गरेका छन्। लिम्बुलाई अहिले पहिचान पक्षधर र साना पार्टीहरूको समर्थन बढ्दो छ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), केपी पालुङवा नेतृत्वको राष्ट्रिय जनमुक्ति, कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान राष्ट्रिय मञ्च, धरानका मेयर हर्क साङपाङदेखि हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ छ।

नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलका पहिचानवादी कार्यकर्ताहरू समेत लिम्बुलाई मत दिने तयारीमा देखिन्छ। लिम्बू किराँत धर्मगुरु आत्मानन्द लिङ्देनका चेला पनि हुन्। गुरुको पक्षमा ५ हजारभन्दा बढी मत रहेको अनुमान गरिएको छ। डकेन्द्रको एक सूत्रीय माग नै पहिचानसहितको राज्य छ। यसैमा यहाँका पहिचान पक्षधरको समर्थन छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.