|

रौतहट : रौतहटको कटहरियाकी उपमेयर रीता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। 

विभिन्न ८ बुँदे माग राख्दै उपमेयर यादवसहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटमा तालाबन्दी गरेको हो।

नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएका कर्मचारी, डोर, करार, सफाइकर्मी सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने वा नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने लगायतका माग गरिएको छ।

त्यस्तै विगतमा नगरक्षेत्र भित्र ह्यान्डपाईप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत पोल खरिदका लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नुपर्ने, आर्थिक वर्ष २०७९/८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ/संस्थाबाट आएको योजनाको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोरको संख्या, नाम ठेगानासहित उनीहरूको तलबमानको विवरण तथा भुक्तानीबारे लिखित जानकारी गराउनुपर्ने माग राखिएको छ। 

गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त विषयबारे जानकारी माग्दा मेयर अजयप्रकाश जैसवालले आज २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए। 

१८ गतेको सूचना अनुसार आज भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल, प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहसहित अनुपस्थित रहेको उपमेयर यादवले बताइन्।

एकातर्फ मेयर अधिकृत बैठकमा सहभागी नहुनु र अर्कोतर्फ मेयरको मानिस हिउँदे अधिवेशनका लागि कार्यपालिका सदस्यको घरघरमा निर्णय पुस्तिका लगेर हस्ताक्षर गराउन सुरु गरेकाले मेयरको नियत ठीक नरहेको उपमेयर यादवले आरोप लगाइन्।

उपमेयर रीता देवी यादव, वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायत  तालाबन्दी गर्न गएका थिए। 

विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले मेयर जैसवालले हिसाब पारदर्शी नगरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.